त्रिशूलीमा हराएका बस खोज्न भारतबाट ल्याइयो ४० केजीको चुम्बक

त्रिशूलीमा हराएका बस खोज्न भारतबाट ल्याइयो ४० केजीको चुम्बक


ग्लोब नेपाल
729
Shares

काठमाडौँ । पहिरोसँगै बगेर त्रिशूलीमा हराइरहेका दुईवटा बस खोज्न भारतबाट चुम्बक ल्याइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतबाट ४० केजीको ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) ल्याइएको बताए ।

यसअघि गत ५ साउनमा भारतबाट तीनवटा सोनार क्यामेरासहित नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली बस खोज्न आएको थियो ।

टोलीले सशस्त्र प्रहरीको सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम शिक्षालयका गोताखोर तथा नेपाली सेना र प्रहरीसँगको सहकार्यमा बस र बससँगै बेपत्ता भएका यात्रुको खोजीकार्य जारी राखेको छ ।

सोनार क्यामेराले त्रिशुली नदीको घुमाउने र केराबारी क्षेत्रमा शंकास्पद बस्तु देखाएकाले शनिबार त्यस क्षेत्रमा विशेष खोजबिन गर्न लागिएको यादवले जानकारी दिए । आज दिनभर अन्तिम प्रयास गर्ने र नभेटिए खोजीकार्य जारी राख्ने वा रोक्ने भन्नेबारे निर्णय लिइने बताए ।

नारायणघाट–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमबाट गत असार २८ बिहान दुईवटा बस पहिरोसँगै त्रिशूलीमा खसेका थिए । दुई बसमा गरी ६५ भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ ।

तर, हालसम्म ५ भारतीयसहित १९ जनाको मात्र शव फेला परेको छ ।