विदेश फरार १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

विदेश फरार १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन



काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देश बाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भई विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिदै समिति सभापति सूर्यबहादुर थापाले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताए ।

सभापति थापाले विदेशमा रहेका १८ जनालाई पनि समितिको छानबिनको दायरामा आउन जरुरी रहेको बताए । उनले सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीवी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनलाई नेपाल फर्काउन आग्रह गरिएको बताए ।

यसैगरी, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्बिरण खातुन र असरफ अलि,सहारा बचत तथा ऋण सहकारी र सुप्रिम सुवास के.सी, कान्तिपुर सेभिङका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको जानकारी उनले दिए ।

उनले १८ जना अमेरिका, बेलायत, मेलेसिया, युरोपलगायत भारत र कतिको अज्ञात रहेकाले बचत कर्ताहरूको गुनासो रहेको बताए ।