पहिरोमा परेर बागलुङमा ६ बालबालिकासहित ८ जनाको मृत्यु

पहिरोमा परेर बागलुङमा ६ बालबालिकासहित ८ जनाको मृत्यु


ग्लोब नेपाल
1.6k
Shares

बागलुङ । सोमबार रातिदेखि परेको वर्षाले गएको पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ । मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका–९ का विधान परियार (१५) र गंगा बस्नेत (२४) को मृत्यु भएको मृत्यु भएको हो ।

घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो । पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले बतायो ।

त्यस्तै वडा नं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा जुम्ल्याहा मालती बुढा र मधु बुढा (७), मनोज बुढा (१३) र अमन बुढा (१२) को पनि मृत्यु भएको हो । सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । सोही घटनामा मैतीदेवी बिक (५९) को पनि मृत्यु भएको हो ।

बिहान १० बजेको समयमा खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएको थियो । घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन ।

उक्त घटनामा संगीता बुढा (४६), सुमित्रा बिक (५९), सीता थापा (३२) र मंगलसिं बुढा (४२) गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

वडाध्यक्ष वीरेन्द्र बुढाले घटनास्थल जाने झोलुंगे पुल भत्केकोले उद्धारमा कठिनाइ भएको बताए ।