जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गर्‍याे, उनको अपमान गरियाे : शेख हसिना

जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गर्‍याे, उनको अपमान गरियाे : शेख हसिना



नयाँदिल्ली । भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडे पछि पहिलो पटक मुख खोलेकी छिन् । उनले भनिन, ‘बंगबन्धु शेख मुजिबुर रहमान, जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ ।’

‘उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु ।’ शेख हसिना बंगलादेश छोडेर अगस्ट ५ मा भारत पुगेकी थिइन ।  त्यसपछि उनी यहीँ छिन् । 

शेख हसिनाको यो बयान उनका छोरा सजीब वाजिद जोयलाई उद्धृत गर्दै आएको हो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

शेख हसिनाले बंगलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिब उर रहमानको पुण्यतिथि मनाउन आग्रह गरेकी छन्। मुजिब उर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो । 

यसैबिच बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको सार्वजनिक बिदा रद्द गरेको छ ।

हसिनाले आन्दोलनमा मारिएकाहरुलाई श्रद्धाञ्जली अर्पण गरेकी छन् ।  हसिनाले विज्ञप्तिमा भनिन्, ‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन् । म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु र उहाँहरूप्रति समवेदना प्रकट गर्दछु । उनिहरु सँग म छु, म जस्तै जो आफ्नो प्रियजन गुमाउनुको पीडा सँग जिउदै छन् ।’

आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिए । हसिनाले भनिन्, ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु ।’