सुदूरपश्चिम प्रदेशमा आज धुमधामसँग ‘ओल्के’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज धुमधामसँग ‘ओल्के’ पर्व मनाइँदै


ग्लोब नेपाल
81
Shares

डोटी । डोटीसहित सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै छ । ओल्के संक्रान्ति सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेश भर धुमधामसँग मनाइने गरिन्छ । साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ ।

आज मीठो मसिनो खाना खाने चलन रहेको छ भने बाबियोको पिङ खेल्ने चलनसमेत रहेको छ । कर्कलो, काँक्रा, भन्टा, मुला, दही र हरियो सागपात आफन्तलाई बाँड्ने प्रचलन पनि यो पर्वमा छ। ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ ।

आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहेको जानकारहरु बताउँछन । विगतमा वर्षा याममा दादुरा, झाडापखाला, लुतो, हैँजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के पर्व मनाउँदै आएको विश्वास गरिन्छ ।

साउन महिना सकिएर भाद्र महिना प्रारम्भ भएसँगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गरेको सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धामका मुख्य पुजारी सिद्धराज भिनाडी बताउँछन् ।

पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उनका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ ।

वर्षायाममा झाडापखाला हैँजा लुतो र कुष्ट रोग आदि फैलिने समस्या हुन्छ उपचार सहज भएपछि रोगको संक्रमण दर घटेको छ तर समाजमा यस्ता रोग बाट जोगिएको उपलक्ष्यमा ओल्के पर्व धुमधामसँग मनाउने चलन रहेको स्थानीय लक्ष्मण देउबाको भनाइ छ । ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको छ ।