दिल्लीमा मोदी-पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

दिल्लीमा मोदी-पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण



नयाँदिल्ली । चार वर्षपछि भारतीय भूमिमा पुनः भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको आजको अन्तरक्रिया कूटनीतिक औपचारिकता मान नभई, बदलिँदो विश्व व्यवस्थाबिच पुरानो मित्रताको पुनः मापन गर्ने महत्त्वपूर्ण क्षण मानिएको छ ।

सन् २०२१ डिसेम्बरपछि पहिलो पटक भारत आएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगतरूपमा स्वागत गरे । दुवै नेताले एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको निवाससम्म पुगे । प्रधानमन्त्रीले रुसी अतिथिलाई रुसी भाषामा अनुदित पवित्र भगवद गीताको प्रतिलिपि उपहार दिँदै यस शास्त्रले विश्वभरका लाखौँ मानिसलाई प्रेरित गर्ने बताए ।

पालम विमानस्थलमा प्रधानमन्त्रीले पुटिनलाई आलिङ्गन गर्दै स्वागत गर्दा परम्परागत नृत्य गानले वातावरण झन् उत्साहपूर्ण बनेको थियो । प्रधानमन्त्री मोदीले एक्समा भारत–रुस मित्रतालाई ‘समय-परीक्षित’ भन्दै राष्ट्रपति पुटिनलाई पुनः स्वागत गर्न पाउँदा खुसी रहेको उल्लेख गरे ।

राष्ट्रपति पुटिन डिसेमबर ५ (शुक्रबार)सम्म भारतमा रहनु हुने छ र यसै क्रममा २३ औँ भारत-रुस वार्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीसँग विस्तृत वार्तामा बस्नेछन् । त्यसअघि उहाँले राष्ट्रपति भवनमा औपचारिक स्वागत, त्रिसेवा गार्ड अफ अनर ग्रहण गर्ने र राजघाटमा महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

हैदराबाद हाउसमा दुवै नेताको सीमित र विस्तारित वार्ता हुने छ । पूर्व कूटनीतिज्ञ अरुण सिंहले भारत-रुस सम्बन्ध राजनीतिक समर्थन, रक्षा सहयोग र परम्परागत विश्वासमा आधारित भएकाले पुटिनको यो भ्रमण अत्यन्त महत्त्वपूर्ण रहेको टिप्पणी गरे । उनका अनुसार संयुक्त राष्ट्र सुरक्षा परिषदमा रुसले भारतलाई दिएको निरन्तर समर्थनले दुवै मुलुकबिचको स्थायी साझेदारीलाई अझ मजबुत बनाएको छ ।

भारत प्रस्थान गर्नुअघि दिएको अन्तर्वार्तामा राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीको अडिग नेतृत्व, स्पष्ट दृष्टिकोण र बाह्य दबाब नमान्ने क्षमताको प्रशंसा गर्दै भारतलाई प्रमुख विश्व शक्ति भएको उल्लेख गरे । उनले मोदीसँगको सम्बन्धलाई व्यावसायिक र व्यक्तिगत दुवै स्तरमा विश्वास र दीर्घकालीन सहयोगमा आधारित रहेको बताए ।

युक्रेन द्वन्द्व आरम्भ भएदेखि पुटिनको यो पहिलो विदेश यात्रा भएकाले यस भ्रमणलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विशेष ध्यानका साथ हेरिएको छ । दुवै देशबिच व्यापार, रक्षा, विज्ञान–प्रविधि, कृषि, शिक्षा तथा सांस्कृतिक तथा मानवीय क्षेत्रमा सहयोग विस्तारबारे धेरै सम्झौता हुने अपेक्षा गरिएको छ ।

क्रेमलिन र भारतीय विदेश मन्त्रालय दुवैले पुटिनको भ्रमणले विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्ने, द्विपक्षीय प्रगतिमाथि समीक्षा गर्ने र विश्व तथा क्षेत्रीय मुद्दामा आपसी धारणा आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बताएका छन् ।