काठमाडौं । प्रहरीले पशुपति मन्दिर परिसरमा कोटिहोम आयोजना गर्ने विजय भण्डारी उर्फ विजय कृष्णमुर्तिलाई पक्राउ गर्ने प्रयास गरेको छ । विवादित पृष्ठभूमिका भण्डारीले एक महिना पशुपतिमा कोटिहोम लगाएका थिए । समापनपछि शुक्रबार राति प्रहरी टोली उनलाई पक्रन पशुपति परिसर पुगेको थियो ।
तर, उनका समर्थकले प्रतिकार गरेपछि प्रहरी त्यसै फर्कियो । भण्डारी समर्थकले पशुपति क्षेत्रमा केहीबेर हुलहुज्जत नै गरे । पक्राउ गर्दा अप्रिय अवस्था आउन सक्ने अनुमानसहित प्रहरी पछि हट्यो । काठमाडौं प्रहरी परिसरका एसएसी वसन्त रजौरेले पक्राउ गर्न नभई सोधपुछका लागि भण्डारीलाई लिन गएको प्रतिक्रिया दिए ।
‘पक्राउ गर्न भन्दा पनि केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले प्रहरी उहाँलाई लिन गएको थियो’, उनले भने । भण्डारीले विगतमा प्रहरी कार्यालयबाट लिएको चारित्रिक प्रमाणपत्रबारे सोध्न चाहेको प्रहरीका एक अधिकृतले बताए ।
भण्डारी ठगी मुद्धामा जेल बसेर रिहा भएका हुन् । तर, आपराधिक पृष्ठभूमिका उनले कसरी चारित्रिक प्रमाणपत्र लिन सफल भए भन्ने विषयमा प्रहरीको छानबिन जारी छ ।
भण्डारीले कोटिहोममा नेपालमा बंगलादेशको अवस्था आउन सक्ने भन्दै राजनीतिक भाषणबाजी गरेका थिए । यस्तै उनले पशुपति क्षेत्र रणमैदानमा परिणत हुन सक्ने धम्की समेत दिएका छन् ।
प्रतिक्रिया