बैकुण्ठ वास् होस् सर !

बैकुण्ठ वास् होस् सर !



जनै पूर्णिमाकै दिन हाम्रो गौरबको धरोहर आदरणीय दिलराम लामिछाने सरको देहवसानको खबरले भावविव्हल भएको छु । मेरो हजुरबुवाहरुका दाजुभाई, हामीलाई अत्यन्त माया र स्नेह गर्ने आदरणीय गुरुवर दिलराम सर रुम्जाटारको मात्र होइन सिंगो ओखलढुंगा जिल्लाको गौरब हुनुहुन्थ्यो ।

राष्ट्रिय विभूति सन्त ज्ञान दिलदासका नाति हाम्रो हेडसर एक शिक्षकभन्दा माथि रुम्जाटारको धर्तीपुत्र हुनुहुन्थ्यो । हेडसर सक्रिय रहँदा नेपाल शिक्षक संघ ओखलढुंगाको अध्यक्ष रहँदा होस् वा पदमा नरहँदा नै किन नहोस् वहाँ जिल्लामा प्रहरी,सिडियो, जिशिअलगायत सबै प्रशासक प्रमूखहरुले पनि सम्मान गर्ने र आफ्नो प्रभाव पार्न सक्ने क्षमताको गुरु हुनुहुन्थ्यो ।

हामी रुम्जाटारका विध्यार्थी मात्र होईन जिल्लाका अरु माविका हेडसरहरु र प्रशासकहरु पनि दिलराम सर भनेपछि कति सम्मान गर्थे भन्ने कुरा २०४७-२०५९ सम्मको अवधिलाई देख्नेहरुका माझ ताजै होला । जिल्लामा एकछत्र पकड थियो । आजको रुम्जाटार बन्न र रुम्जाटारका भूतपूर्व विध्यार्थीहरु आज जो जहाँ सफलताको शिखरमा छन् त्यसको आधार बनाउन गुरुवर दिलराम लामिछानेको योगदान पहिलो नम्वरमा आउँछ ।

‘के गर्नु गौतम अब हिंडडुल गर्न नसक्ने भएँ, घुँडा दुख्छ, अब काल पर्खेर बसेको छु । गाउँ जान सक्दिन । न त गाउँ पहिला जस्तो छ न त कोही मान्छे नै गाउँमा छन् । दाई (हाम्रो हजुरबुवा ललितप्रसाद पोखरेल) पनि बितिहाल्नु भो । लक्ष्मी (हाम्रो कान्छो हजुरबुवा लक्ष्मणप्रसाद पोखरेल) ले पनि छाडेर गईहाल्यो । अब मेरो पालो होला गौतम, हाईस्कूल पनि पहिले जस्तो छैन, तिमीहरु हुँदा स्कूलको रौनक बेग्लै थियो, अहिले विद्यार्थी पनि तिमीहरु जस्तो तगडा छैनन्। अहिले तिमीले प्रगति गरेको सुन्दा गौरव लाग्छ गौतम, राम्रो गर्नु, आमालाई हेर्नु’ … भनेर हाम्रो अन्तिम भेटमा करीब दुई वर्ष अगाडि महाराजगन्जको त्यो ओरालोको निवासमा हेडसरलाई भेट्न जाँदा भन्नु भएको थियो । हेडसरसँग त्यो बेला गुरुआमा र वासु दाई अनि भाई भानु पनि सँगै थियौं र हामी धेरैबेर हेडसरको छेउमा बसेर सँगै रोएका थियौं र आँसु पुछ्दै निस्किएका थियौं ।

गत फागुनमा नेपाल जाँदा भानुको बिवाहमा हेडसरलाई जसरी पनि सहभागी गराउनु पर्छ भनेर सल्लाह हुँदा सर हिंडडुल गर्न नै नसक्ने भइसक्नु भएको रहेछ । हामीले कार्ड पठायौं । वासु दाई आउनु भो । नेपालमै रहँदा एकदिन मात्र भए पनि रुम्जाटारको माटो टेक्न पुग्दा शनद दाईसँग फोनमा कुरा गरें । कलेज पढाउन कक्षामा हुनुहुँदो रहेछ । शनद दाई घरमा भईदिएको भए मलाई हेडसरको घर पुग्ने मन थियो ।

काठमाडौं फर्केपछि कर्मभूमि फर्कने हतारोका कारण हेडसरसँग भेट्न सकिन । तर आज उहाँ अब हामीले कहिल्यै नभेट्ने यात्रामा महाप्रस्थान गर्नु भयो ।

यस्ता महान गुरुवरलाई कुटेर घाईते बनाउने त्यो बेलाका माओवादी गुरिल्लाहरुप्रति म कडा निन्दा, आलोचना र भर्त्सना गर्दछु जसले जीवनभर हेडसरलाई घुँडाको रोगी बनायो र उहाँको सक्रिय जीवनलाई पनि निष्क्रिय बनायो । ती गुरिल्लाहरुलाई आदरणीय हेडसरको आँसुले पनि पोल्ने नै छ ।

यो क्षण हाम्रा अति आदरणीय गुरुवर र त्यो भन्दा पनि बढी मेरो पथप्रदर्शक अभिभावक दिलराम सरको दिवंगत आत्माको चीर शान्तिको लागि भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु र अनायासै बग्दै गरेका यिनै आँशुका थोपाहरु मार्फत हजारौं माईल टाढैबाट भएपनि श्रद्धांजली अर्पण गर्दछु । सर, कर्मथलोमा उभिएर श्रद्धांजलीका यी शब्दहरु लेख्दै गर्दा मन भारी छ । आर्यघाटमा पुगेर एक अन्जुली पानी चढाउन सकिन तर आँसुका थोपाहरुसँगै टाढैबाट श्रद्धासुमन अर्पण गरें है ।

शोकमा डुब्नु भएकी गुरुआमा, शनद दाई र वासु दाईसहित शोकाकूल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछु ।

भावपूर्ण श्रद्धांजली आदरणीय हेडसरप्रति ।