गोल्डेन ट्राएंगल क्षेत्रमा डुंगा दुर्घटना हुँदा २० जना बेपत्ता

गोल्डेन ट्राएंगल क्षेत्रमा डुंगा दुर्घटना हुँदा २० जना बेपत्ता



यांगुन । लाओस, म्यान्मा र थाइल्यान्डको बिचमा अवस्थित ‘गोल्डेन ट्राएंगल’ क्षेत्रको मेकोङ नदीमा भएको डुंगा दुर्घटनामा परी कम्तीमा २० जना बेपत्ता भएका छन् । बेपत्ताको मृत्यु भएको आशंका गरिएको अधिकारीले बुधबार बताएका छन् ।

थाइल्यान्डको उत्तरी चियाङ राई प्रान्तका प्रहरी प्रमुख मनोप सेनाकुलले बताएअनुसार उक्त तीन देश विभाजन गरेको नदीमा ‘तीव्र प्रवाह’ को समयमा सोमबार राति डुंगा दुर्घटना भएको हो । घटनामा परेका थप १६ जना म्यान्माका नागरिकको उद्धार गरिएको उनले बताएका छन् ।

म्यान्माका सञ्चारमाध्यमले उल्लेख गरेअनुसार डुंगा लाओसबाट म्यान्मा जाँदैगर्दा इन्जिनमा समस्या आएपछि दुर्घटनामा परेको थियो । सामाजिक सञ्जालमा साभार गरिएको भिडियोमा नदीको लाओस छेउमा रहेका मानिसहरूले पानीबाट दुर्घटनामा परेका मानिसलाई बाहिर निकाल्दै गरेको देखाइएको छ ।

अधिकांश बेपत्ता व्यक्ति पूर्वी म्यान्माको अर्ध–स्वायत्त क्षेत्र वाका भएको युनाइटेड वा स्टेट आर्मी (युडब्लुएसए) का प्रवक्ता न्यी रङले बताएका छन् ।

घटनाको अनुसन्धान गरिरहेकाले वास्तविक विवरण अझै आउन सकिनरहेको अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार घटना लाओसको गोल्डेन ट्राएंगल स्पेशल इकोनोमिक जोन (एसईजेड) नजिकै भएको थियो । एसईजेड धेरै चिनियाँ स्वामित्वका क्यासिनो र होटल रहेको स्थान हो ।