ट्रेलरको ठक्करले कार दुई टुक्रा, एकै परिवारका ७ को मृत्यु

ट्रेलरको ठक्करले कार दुई टुक्रा, एकै परिवारका ७ को मृत्यु



अहमदावाद । भारतको गुजरातस्थित कच्छ जिल्लामा कार र ट्रेलर एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ। भुज–खावडा राष्ट्रिय राजमार्गमा गएराति भएको भीषण दुर्घटनामा कार दुई टुक्रा भएको छ।

खावडानजिक भएको दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। ठक्कर यति शक्तिशाली थियो कि कार बीचबाट चिरिएर दुई भागमा विभाजित भएको थियो भने गाडीका अवशेष सडकभरि छरिएका थिए।

दुर्घटनामा महिलासहित बालबालिकाको समेत ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। कारमा सवार सबै एउटै परिवारका सदस्य हुन सक्ने आशंका गरिएको छ। यद्यपि मृतकको पहिचान र पारिवारिक सम्बन्धबारे आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।

दुर्घटनाको खबरपछि स्थानीय बासिन्दा र राजमार्गमा आवतजावत गर्ने यात्रु घटनास्थलमा पुगेका थिए। कारमा सवार व्यक्तिहरू गाडीभित्रै फसेको अवस्थामा रहेकाले उद्धारका लागि क्षतिग्रस्त भाग हटाउनुपरेको थियो।

कच्छका जिल्ला कलेक्टर अनिल राणावासियाले दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकको पहिचान गर्ने प्रक्रिया जारी रहेको बताइएको छ।

कार कुन दिशाबाट गइरहेको थियो र दुर्घटना कसरी भयो भन्ने विषयमा विस्तृत जानकारी सार्वजनिक भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ। भीषण दुर्घटनापछि घटनास्थलमा शोक र त्रासको वातावरण छाएको छ।