शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा : मन्त्री भट्टराई

शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा : मन्त्री भट्टराई



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव एवम् पुरस्कार वितरण समारोहमा मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा समस्या देखाउनुभन्दा समाधान खोज्नतर्फ सरकार लागेको उल्लेख गरिन् । हरेक नागरिकलाई शिक्षा दिनु राज्यको पहिलो दायित्व भएकाले सरकार आफ्नो जिम्मेवारी पूरा गर्न लागेको उनको भनाइ छ ।

मन्त्री भट्टराईले समस्याका रूपमा रहेको नेपालको शिक्षा प्रणालीलाई समाधानमुखी बनाउन सरकार योजनाबद्ध रूपमा लागिरहेको स्पष्ट पारिन् । उनले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि बौद्धिक समाजबाट प्राप्त राय, सुझावलाई ग्रहण गरेर सरकार अगाडि बढिरहेको बताए । उनले शिक्षा क्षेत्रको विकास गर्दा वर्तमानसँगै भावी पुस्ताका बारेमा समेत सोच्नुपर्ने बेला आएको उल्लेख गरिन् ।

विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गर्न नहुने मन्त्री भट्टराईको भनाइ छ । उच्च शिक्षाको विकासका लागि विभिन्न समयमा विभिन्न सरोकार भएकाले दिएका राय, सुझावलाई समेटेर एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने उनले धारणा राखे ।

बागमती प्रदेशका सदस्य दीपेन्द्र श्रेष्ठले मुलुकको शिक्षा क्षेत्रमा ठुलो सुधारको खाँचो रहेको बताए । पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले आगामी दिनमा शिक्षालाई प्रविधितर्फ जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. रुद्र शर्माले क्याम्पसले सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत छात्रालाई निःशुल्क अध्यापन गराउँदै आएको जानकारी दिए । क्याम्पस प्रमुख अपराजिता अर्यालले नारी शिक्षाको क्षेत्रमा चार दशकदेखि निरन्तर रूपमा लागेको डिल्लीबजार कन्या क्याम्पसमा हाल आठ सयभन्दा बढी छात्रा अध्ययनरत रहेका जानकारी दिए ।

कार्यक्रममा विशिष्ट प्राज्ञिक सम्मानबाट समाजशास्त्र विषयमा विद्यावारिधि हासिल गर्नुभएका सोही क्याम्पसका प्राध्यापक डा. हरिहर घिमिरे र डा. आनन्द पन्तलाई सम्मान गरिएको थियो । साथै क्याम्पसले उत्कृष्ट कर्मचारी तथा विद्यार्थीलाई समेत सम्मान गरेको थियो ।