न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा भोलिदेखि अमेरिकाको न्युयोर्कमा शुरू हुँदैछ । महासभा भोलिदेखि शुरू हुने भए पनि उच्चस्तरीय साधारण छलफल भने आउँदो असोज ८ गतेदेखि हुनेछ । यो छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४ मा हुने कार्यतालिकामा उल्लेख छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्नुहुने कार्यतालिका छ ।
विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापछिकाे मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले महासभामा भाग लिनेछन् ।
‘कसैलाई पनि पछाडि नछाडौँ : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य ’ भन्ने नाराका साथ शुरू हुने राष्ट्रसङ्घको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण रहेको जनाइएको छ । खासगरी सङ्घीय संसद्ले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ ।
यसले नेपालले शान्ति प्रक्रियालाई निर्णायक विन्दुमा पुर्याउन सफल भएको विश्वकै नमूनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ । नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा यो फोरममा प्रस्तुत गर्न सक्नेछ ।
प्रतिक्रिया