काठमाडौं । पोल्यान्डकाे सबैभन्दा ठूलो नदी विस्टुला सुक्ने अवस्थामा पुगेको छ । जलवायु परिवर्तनका कारण देखिएको खडेरी र चर्को गर्मीका कारण नदी सुक्ने अवस्थामा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
राजधानी वार्सासहित वरपरका क्षेत्रमा नदीमा बालुवा मात्रै देखिन थालेको छ । युरोपेली सङ्घको जलवायु परिवर्तन अनुगमन सेवाका अनुसार उत्तरी गोलार्धमा यसपटक गर्मीले रेकर्ड तोड्दा धेरै क्षेत्रमा खडेरी निम्त्याएको छ । जसको असर विस्टुला नदीमा देखिएको हो ।
पोल्यान्डकाे मौसम विज्ञान तथा जल व्यवस्थापन संस्थान (आईएमजीडब्ल्यू) को तथ्याङ्कले वार्साको मापन विन्दुमा नदीमा २२ सेन्टिमिटर मात्रै पानी रहेको छ । यो इतिहासकै कमी हो । यसअघि सन् २०१५ मा यो रेकर्ड २६ सेन्टिमिटर थियो । वार्सामा नदीको गहिराइ सामान्यतया १ सय ५ देखि २ सय ५० सेन्टिमिटर हुन्छ ।
आईएमजीडब्ल्यूका प्रवक्ता ग्रजेगोर्ज वालिजेभस्कीले उच्च तापक्रम, न्यून वर्षा, जाडोको समयमा भइरहेको न्यानो लगायतका कारण पानीको स्रोत सुक्दा नदी पनि सुक्ने अवस्थामा पुगेको बताएका छन् ।
नदी कति उथलपुथल भएको छ भनेर खोज्दै हिँडेका पत्रकारहरूले वार्साबाट ६० किलोमिटर टाढा राडवानकोभ गाउँ नजिकै ‘मूस’ अर्थात् एक प्रकारकाे मृगले समेत नदी पार गरेको भिडियो खिचेका छन् । नदीमा पानी सुक्न थालेपछि माछासहितका जीवजन्तु खतरामा परेका छन् ।
प्रतिक्रिया