काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर जिल्ला अदालत पुगेका छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा (फिरादपत्र) दर्ता गराएका हुन् ।
गत भदौ १२ गते नै राउतले मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता रामसजिवन महतोले जानकारी दिएका छन् । राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइतमात्र जाने गरेको फिरादपत्रमा उल्लेख गरेका छन् ।
सिन्धु लामो समयदेखि भारतमा रहँदै आएको पनि उनले उक्त मुद्दामा उल्लेख गरेका छन् । उक्त मुद्दामा अहिले जिल्ला अदालतले म्याद तामेलीको तयारी गरिरहेको छ ।
राउतले श्रीमतीले आफ्ना छोराछोरी र परिवारको दायित्व पुरा नगरेकाले मुलुकी संहिता अनुसार आफू अलग भएर बस्न चाहेको फिरादपत्रमा उल्लेख गरेका छन् ।
राउतकी श्रीमती सिन्धु भारतीय नागरिक हुन् भने उनीहरूका दुई छोरी र एक छोरा छन् । राउतले मुद्दामा ‘अंश’ दिएर राख्न पनि आफू तयार रहेको फिरादपत्रमा उल्लेख गरेका छन् ।
प्रतिवादी सिन्धुको म्याद तामेलीपछि मात्र यो विवादमा पेसी सुरु हुनेछ । दुवै पक्षको जवाफ आएपछि जिल्ला अदालतले सम्बन्ध विच्छेद हुने वा नहुने निर्णय सुनाउने जिल्ला अदालतले जानकारी दिएको छ ।
प्रतिक्रिया