सीआईवीद्वारा धनराज गुरुङ दम्पती जोडिएको मितेरी सहकारीमाथि अनुसन्धान सुरु

सीआईवीद्वारा धनराज गुरुङ दम्पती जोडिएको मितेरी सहकारीमाथि अनुसन्धान सुरु


ग्लोब नेपाल
540
Shares

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कांग्रेसका उपसभापति एवं पूर्व कानुन मन्त्री धनराज गुरुङ र उनकी पूर्वपत्नी जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्था ठगीबारे अनुसन्धान सुरु गरेको छ ।

सो सहकारी संस्थामा रहेका कर्मचारी र सञ्चालकहरू विरुद्धमा निवेदन दर्ता गरेर प्रारम्भिक अनुसन्धान अघि बढाएको सीआईवीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन ।

उनले भने– ‘पैसा अपचलन कहाँ कसरी भयो भन्ने बारेमा अनुसन्धानबाट हेर्छौ, यसमा को को संलग्न छन भन्ने कुरा अनुसन्धानबाट थाहा हुने भयो । अहिले हामीले मुख्य रूपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका हौँ ।’

सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउनमा उजुरी गरेका थिए । ठगी आरोपित मुख्य व्यक्ति ज्योति गुरुङ सांसद धनराज गुरुङकी श्रीमती हुन्, यद्यपि धनराजले २०७६ सालमा सम्बन्ध विच्छेद गरेको दाबी गर्दै आएका छन् ।

सम्बन्ध विच्छेद गरेको दाबी गरे पनि श्रीमतीको नाममा रहेको ऋण धनराजले तिर्दै आएको अध्यक्ष कुम्भराजले जानकारी दिएका छन । धनराज गुरुङको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानका क्रममा थाहा हुने र अहिलेसम्म धनराज गुरुङको बारेमा उजुरी नपरेको सीआईवी प्रवक्ता बोगटीले जानकारी दिएका छन ।

यता सांसद गुरुङ सहकारी ठगीमा मुछिएपछि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पनि मितेरी सहकारीको स्थलगत निरीक्षण गरेको छ ।