चीनको शांघाईमा ७५ वर्षयताकै ठूलो आँधी, ४ लाखलाई सुरक्षित ठाउँमा सारियो

चीनको शांघाईमा ७५ वर्षयताकै ठूलो आँधी, ४ लाखलाई सुरक्षित ठाउँमा सारियो



काठमाडौं । चीनको व्यापारिक राजधानी मानिने शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी आएको छ । आज आएको ‘बाबिन्का’ नामको आँधी ७५ वर्षयताकै ठूलो रहेको बीबीसी हिन्दीले जनाएको छ ।

आँधीका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । चीनको मौसम विभागले आज बिहान साढे ७ बजे बिबिन्का आँधीले शांघाईको तटीय क्षेत्रमा विध्वंस मच्चाएको र शहरका कैयौं संरचनामा असर पुगेको जनाएको छ । आँधीको पूर्वसूचना पाएलगत्तै शांघाई नगर प्रहरीले हिजो बेलुका नै चार लाख जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको थियो ।

यस्तै चेओन्गामिङ जिल्लाबाट नौ हजार जना मानिसलाई पनि सुरक्षित ठाउँमा सारिएको सरकारले जनाएको छ । आँधीका कारण चीनमा सयौं उडान रद्द भएका छन् भने शांघाई जोड्ने सबैजसो राजमार्गहरू पनि बन्द भएका छन् ।