कहाँबाट सिके जीबी राईले ठगी विद्या ?

कहाँबाट सिके जीबी राईले ठगी विद्या ?

यस्तो छ जीबी राईको ठगी सिलसिला


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा दोषी भनिएका गीतेन्द्रबाबु (जीबी) राईले कहाँबाट सिके भन्ने विषय यतिबेला चर्चामा छ । त्यसो त उनको पृष्ठभूमि नै ठगी कामबाट भएको भेटिन्छ । जिबीसँग ठगीको दुई दशक लामो अनुभव रहेको छ ।

राई सहकारी ठगीभन्दा पहिला नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलसँग जोडिएका थिए । उनको ठगी धन्दा त्यहीबाट सुरु भएको देखिन्छ । २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी स्थापना गरेर उनी नेटवर्किङ व्यवसायमा लागेका थिए ।

त्यसको दुई वर्षपछि २०६८ सालमा सरकारले उक्त व्यवसायमा प्रतिबन्ध लगाएपछि जीबीले सोही नेटवर्क प्रयोग गरी देशका विभिन्न स्थानमा करिब दर्जन सहकारी सञ्चालनमा ल्याएका थिए ।

सहकारीहरुमा सर्वसाधारणले बचत गरेको रकम गैरकाननूनी रुपमा दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेका थिए ।

सहकारी संस्थामा बचतकर्ताको बचत रकम अपचलन र दुरुपयोग गर्ने एवं सहकारीको बचत रकम गैरकानूनी रूपमा निजी कम्पनी र व्यक्तिको नाममा प्रवाह गर्ने जीबी राई समेतको गिरोह लामो समयदेखि नेटवर्किङ्ग व्यवसायमा रहेका र नेटवर्किङ शैलीमै सहकारी संस्थाहरूको फैलावट र प्रसार गरी हरेक संस्थाबाट रकम अपचलन गर्ने गरेको देखिन्छ ।

त्यस्ता सहकारी सञ्चालकहरूले कम्पनीकै शैलीमा सहकारी संस्थाहरूको बिस्तार गर्नुका साथै अरूको नाममा कर्जा खडा गरी आफैंले दुरूपयोग समेत गर्ने गरेको पाइएको छ ।

नेटवर्किङ र सहकारी ठगीअघि उनी २०५६ सालदेखि २०५८ सालसम्म हङ्कङबाट सञ्चालित गोल्डक्वेष्ट नामको कम्पनीको गैरकानूनी धन्दामा उनको संलग्नता देखिन्छ । उक्त कम्पनीले सुनको सिक्का दिने भन्दै गैरकानूनीरूपमा नेटवर्किङ मार्फत धन्दा गरेको यसअघि नै पुष्टि भइसकेको छ ।

गीतेन्द्रबाबु राई (जीबी राई) ले ठगी धन्दा उनकै दाजु अनन्तबाबु राईबाट सिकेका थिए । गोल्डक्वेष्टको धन्दामा अनन्तबाबुले नै जिबीलाई प्रवेश गराएका हुन् ।

अनन्तले स्वदेशी जडीबुटीजन्य वस्तुको व्यापार गर्ने भन्दै ०६१ सालमा हर्बोसहित केही अरु नेटवर्किङ कम्पनी स्थापना गरे । उनले आफूलाई संस्थापक निर्देशक र माइलो भाइ देबेन्द्रबाबु राई र कान्छो गीतेन्द्रबाबुलाई नेटवर्किङ व्यवसायमा लाग्ने, पढ्ने-पढाउने तथा संगठन बनाएर काम गर्न सुरु गर्छन् । राईले भगवती बम्जनसँग विवाह गर्छन् । भगवतीका बाबु ज्ञानबहादुर बम्जन गोर्खा सेभिङ्गसँग सम्बन्धित व्यक्ति हुन् ।

उनले पोखराको सूर्यदर्शन सहकारीको जिम्मा ज्वाई जीवीलाई दिन्छन् । हर्बोबाट खासै कमाउन नसकेका जिबीले सूर्यदर्शनमा सामान्य कर्मचारीका रुपमा काम थालेका थिए । उनले पछि सो सहकारी आफैंले कब्जा गरे । त्यतिमा मात्र उनी सीमित रहेनन् । देशभर विभिन्न सहकारी खोले र ती सहकारीबाट सर्वसाधारणको करोडौं रकम अपचलन गरेर आफूलाई ‘राष्ट्रिय ठग’ का रुपमा चिनाएका छन् ।
(सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा तयार पारिएको हो ।)