मुस्ताङकाे लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति शुरु

मुस्ताङकाे लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति शुरु



म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्त्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम शुरु भएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति शुरु गरेको हो ।

चक्रपथ स्तरोन्नतिका लागि गएको साउन २९ गते तीन करोड २३ लाख १८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएअनुसार निर्माण कम्पनीले सडक ढलानका लागि प्रारम्भिक चरणको काम शुरु गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोकाले जानकारी दिए । सम्झौतानुसार २०८२ माघ २८ गतेसम्म काम सक्ने गरी नाली निर्माण र दुई किलोमिटर लम्बाइ तथा सात मिटर चौडाइमा आरसीसी ढलान हुने उनले बताए ।

आयोजनाका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ९६ लाख रुपैयाँ विनियोजन गरेको छ । कच्ची सडकको धुलो र हिलोले स्थानीयबासीन्दा तथा पर्यटक प्रभावित हुँदै आएका छन् । मौलिकतालाई असर नपर्ने गरी सडक ढलान गर्न लागिएको लोमान्थाङ वडा ५ का अध्यक्ष डुकके विष्टले बताए ।

यसअघि सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ र लोमान्थाङ गाउँपालिकाले सडक, पैदलमार्ग र गल्लीमा ढुङ्गा बिछ्याएका थिए । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाको ६५ लाख २८ हजारको लागतमा स्लेटढुङ्गा छपान गर्ने काम भएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । यो क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएकाले पनि उच्च महत्व दिएर सुधारका काम भइरहेका उनले बताए ।

चोक र सडक छेउमा एक सय ५० वटा सडक बत्ती जोडेर रातको समयमा पनि उज्यालो बनाइएको छ । बस्तीभित्र विद्युतको तारलाई भूमिगत बनाइएको छ । तीस फिटभन्दा अग्लो पर्खालले घेरिएको बस्तीको बीचमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित झन्डै दुई सयवटा माटोले बनेका घर छन् ।