अल जजिराको कार्यालयमा हतियारसहित छिरे इजरायली सेना

अल जजिराको कार्यालयमा हतियारसहित छिरे इजरायली सेना



काठमाडौं । समाचार संस्था अल जजिराको कार्यालयभत्रै इजरायली सेना प्रवेश गरेको छ । आइतबार वेस्ट ब्यांकको रमल्लाहमा रहेको अल जजिराको कार्यालयमा एक हुल इजरायली सेना प्रवेश गरेका हुन् ।

अल जजिराले आफ्नो कार्यालयमा इजरायली सेना प्रवेश गरेको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । सेनाले कार्यालयमा प्रवेश गरी ४५ दिन प्रकाशन प्रसारण बन्द गर्न चेतावनी दिएको अलजजिराले जनाएको छ ।

भिडिओमा इजरायली सेनाहरू हतियारसहित प्रवेश गरेको देखिन्छ। सेना प्रवेश गरेपछि ब्युरो प्रमुख वालिद ओमरी र केही कर्मचारीहरू बाहिर देखिन्छन् ।

सेनाले उनलाई तत्काल कर्मचारीहरूलाई बाहिर निकाल्न र ४५ दिनसम्म प्रसारण बन्द गर्न चेतावनी दिएको अल जजिरासहित अन्तर्राष्ट्रिय अखबारहरूले लेखेका छन् ।

अक्टोबर ७ देखिको इजरायल-हमास द्वन्द्वले गजामा आम नागरिकमाथि खेप्नुपरेको सास्ती र युद्धले जन्माएको अस्तव्यस्त अवस्थालाई अल जजिराले प्राथिमकताका साथ प्रकाशन र प्रसारण गर्दै आएको थियो ।

इजरायलले भने अलजजिराले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ । यसअघि मे महिनामा जेरूसेलममा रहेको अल जजिराको कार्यालय पनि इजरायलले बन्द गरिदिएको थियो ।