रूसमा सेना पठाउने उत्तर कोरियाली तयारीले सियोल र नेटो चिन्तित

रूसमा सेना पठाउने उत्तर कोरियाली तयारीले सियोल र नेटो चिन्तित



सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का प्रमुख मार्क रुटले उत्तर कोरियाले रूसमा सेना पठाउन गरेको तयारीबारे चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियाको समाचार एजेन्सीका अनुसार प्योङयाङ र मस्कोबीचको सैन्य सहयोगबारे संयुक्त प्रतिक्रियासहित छलफल गर्न नेटो महासचिव मार्क रुट र युनबीच फोन वार्ता भएको थियो ।

युक्रेनमा रूसको सैन्य कारबाही तथा रूस र उत्तर कोरियाबीचको मामला इन्डो–प्यासिफिक क्षेत्र र एटलान्टिक क्षेत्रको सुरक्षासँग जोडिएको पुनः एकपटक पुष्टि हुने युनले वार्तामा बताएका छन् ।

जसले अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पारी कोरियाली प्रायद्वीप र विश्वव्यापी शान्ति खतरामा पार्नेसमेत उनले उल्लेख गरेका छन् ।

नेटो र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यमा यसको प्रतिक्रीया खोज्ने आशा व्यक्त गर्दै युनले दक्षिण कोरियाले प्योङयाङ र मस्कोबीचको सैन्य सहयोगको विरुद्ध सक्रिय रहि ‘चरणबद्ध उपायहरू’ अवलम्बन गर्ने बताए ।

वार्ताका क्रममा रुटले उत्तर कोरियाले रूसमा सेना पठाउने निश्चित गरेको ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै यो निर्णयले अन्तर्राष्ट्रिय कानसन र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लंघन गरेको बताएका छन् ।

उनले रूस र उत्तर कोरियाबीचको सैन्य सहयोगको जवाफ दिन दक्षिण कोरियालाई सक्रिय रूपमा सहयोग गर्न नेटो तयार रहेको कुरामा जोड दिँदै दक्षिण कोरिया, युक्रेन र नेटोबीच रक्षा सहयोग र सुरक्षा संवादलाई सुदृढ पार्ने आशा व्यक्त गरेका छन् ।

दुवै पक्षले प्रविधिको प्रयोगसहित रुस र उत्तर कोरियाबीचको सहकार्यको घटनाक्रमलाई नजिकबाट निगरानी गर्न र संयुक्त प्रतिक्रिया गर्न सहमत भएका छन् ।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले शुक्रबार उत्तर कोरियाले युद्धमा रूसलाई सहयोग गर्न करिब १२ हजार सेना पठाउने निर्णय गरेको तथा एह हजार ५०० सय सेना रुसको सुदूरपूर्वमा पठाएको जनाएको थियो ।