दुई भारतीय कम्पनीका २० जहाजलाई बमले उडाउने धम्की

दुई भारतीय कम्पनीका २० जहाजलाई बमले उडाउने धम्की



नयाँ दिल्ली । भारतीय हवाईजहाज कम्पनीहरूलाई केही समययता लगातार बमले उडाइदिने धम्की आउन थालेको छ ।

भारतका चर्चित इन्डिगो र भिस्तरासमेत कयौँ कम्पनीका जहाजहरू बमले उडाउने धम्की आइरहेको हो ।

मंगगलबार मात्रै दुवै एयरलाइन्सका १०-१० जहाजलाई बमले उडाइदिने धम्की आएको हो ।

पछिल्ला केही दिनयता भारतीय एयरलाइन्सलाई निशाना बनाउँदै यस्ता धम्कीसहितका फोन र ईमेल लगातार आइरहेका छन् ।

इन्डिगो एयरलाइन्सले मंगलबार आफ्ना १० उडानमा धम्की मिलेको जनाएको छ । मुख्य गरी अन्तरराष्ट्रिय उडानका जहाजलाई बमले उडाउने धम्की आएको हो ।

कयौँ होक्स कलसहितका घटना जोड्दा यस साता यस एयरलाइन्सलाई आएका धम्कीको संख्या नै १०० भन्दा माथि पुगेको छ ।

एयरलाइन्सका अनुसार बमको धम्की मिलेकामध्ये ६ई-६३ दिल्ली जेद्दाह, ६ई-१२ इस्तान्बुल-दिल्ली, ६ई-८३ दिल्ली-दम्माम, ६ई-६५ कोझिकोड-जेद्दाह, ६ई-६७ हैदराबाद-जेद्दाह, ६ई-७७ बेङ्गलुरु-जेद्दाह, ६ई-१८ इस्तान्बुल-मुम्बई, ६ई-१६४ मैङ्गलुरु-मुम्बई, ६ई-११८ लखनऊ-पुणे र ६ई-७५ अहमदाबाद-जेद्दाह रहेका छन् ।

एयरलाइन्स सूत्रले भारतीय सञ्चारमाध्मयलाई बताएअनुसार इन्डिगोसँगै भिस्तरा एयरलाइन्सका जहाजलाई पनि बमले उडाउने धम्की मिलेकोछ । सोमबार र मंगलवारको बीचमा यस्ता सुरक्षा चेतावनी आएका हुन् । यसले विमानस्थल र जहाजमा कडा सुरक्षा जाँच गर्नु परेको छ ।

भिस्ताराका प्रवक्ताले घटनाबारे अध्ययन भइरहेको बताएका छन् ।