सुनसरीमा १६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे

सुनसरीमा १६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे

मण्डपबाटै ८ जना पक्राउ


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रहरीले सुनसरीबाट बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना चिनियाँ र ५ जना नेपाली रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

प्रहरी उपरीक्षक तिमिल्सनाका अनुसार धनकुटा छथर जोरपाटी–२ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने स्थान बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विबाह गराउँदै गर्दा प्रहरीले बालिको उद्दार गरेको हो ।

प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विपन्न परिवारका किशोरीका बुबाले भने छोरीका लागि राम्रै होस् भनेर विवाह गरेको बताएका छन् । यस्तै चिनियाँ पक्षले विवाह गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । किशोरीको जबरजस्ती विवाहको तयारी गरेपछि उनकै आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

नेपालको कानुन अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष पुग्नुपर्छ । २० वर्ष मुनिका कसैले विवाह गर्नु वा गराउन नहुने कानुनी व्यवस्था छ । यसरी जबर्जस्ती विवाह गराएमा विवाह बदर हुनेछ र यसमा कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि मुलुकी देवानी संहिता २०७४ म‍ा रहेको छ ।