काठमाडौं । इजरायल र लेबनानबीच सम्झौताको मस्यौदा तयार भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी जनाएको छ । इजरायल र लेबनानबीच हुने सम्झौताको मस्यौदा सार्वजनिक पनि भएको छ । यो मस्यौदा अमेरिकाले तयार पारेको हो । सम्झौता भएमा इजरायल र लेबनानको सैन्य सङ्गठन हिजबुल्लाहबीचको लडाईँ अन्त्य हुनेछ ।
अमेरिकी राजदूत एमोस होचस्टेनले तयार पारेको यो मस्यौदाबाट इजरायलको युद्ध मन्त्रिपरिषद् सन्तुष्ट रहेको र यसलाई स्वीकार गर्ने सम्भावना उच्च रहेको समाचारमा उल्लेख छ । मस्यौदा अनुसार सम्झौतामा हस्ताक्षर भएको सात दिनभित्र इजरायलले दक्षिणी लेबनानबाट आफ्ना सेना फिर्ता लिनुपर्नेछ, जसको पर्यवेक्षण अमेरिका र अरू देशहरुले गर्नेछन् ।
यस्तै लेबनानले दक्षिणी लेबनानमा ६० दिनभित्र कुनै पनि अनौपचारिक सैन्य समूहलाई निशस्त्र पार्नुपर्नेछ । यस्तै लेबनानले आफ्नो क्षेत्रमा हतियारको बिक्री र उत्पादनको अनुगमन गर्नुपर्नेछ र हिजबुल्लाह वा अन्य सशस्त्र समूहमा हतियारको पहुँच पुग्न नदिनुपर्ने उल्लेख छ । सम्झौतापछि लेबनानी सेना र संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) मात्रै दक्षिणी लेबनानमा रहनुपर्नेछ ।
लेबनानका प्रधानमन्त्री नजिब मिकाटीले पनि केही दिनमै इजरायलसँग युद्धविराम हुने आशा व्यक्त गर्नुभएको छ । हिजबुल्लाहले इजरायलमा आक्रमण गरेपछि अहिले इजरायलको सेनाले लेबनानी भूमिमै प्रवेश गरे आक्रमण गरिरहेको छ । पछिल्लो एक महिनामा मात्रै इजरायलको आक्रमणबाट २८ सय जनाभन्दा धेरै लेबनानीको ज्यान गएको छ । मिसाइल र रकेटले लेबनानका सयौँ भौतिक संरचना ध्वस्त भएका छन् ।
प्रतिक्रिया