महिला फुटबल खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

महिला फुटबल खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराए । बुधबार सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् ।

विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।

प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए ।