राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबिच भेटवार्ता

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबिच भेटवार्ता



बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबिच भेट भएको छ । अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबिच भेट भएको हो ।

भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुरा भएको छ । जलवायु परिवर्तन सबैको साझा समस्या भएकाेले हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न सबै जुट्नुपर्ने बिषयमा उनीहरुबिच संक्षिप्त कुराकानी भएकाे हाे ।

महासचिव गुटेरसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटेका हुन् । आजबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै यहाँ आइपुगेका हुन् ।