काठमाडौं । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
जापानको संसद्मा हिजो भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गर्दै बहुमत प्राप्त गरेकाे बीबीसीले जनाएको छ । इसिबाले हिजोको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि संसद्मा मतदान भएको हो ।
गएको अक्टुबरमा भएको मतदानमा इसिबाको पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्मा बहुमत गुमाएको थियो । चार सय ६५ सदस्यीय संसद्मा एलडीपी–कोमेटो गठबन्धनले दुई सय १५ सिट मात्र ल्याएको थियो । तर, कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विशेष अधिवेशनबाट उनी प्रधानमन्त्रीमा चयन भएका हुन् ।
उनले अब आफ्नो पार्टीभित्रको मतभेदसँगै देशको आर्थिक सङ्कट व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्न सबैको सहयोग मिल्ने विश्वास व्यक्त गरेकाे खबरमा उल्लेख छ ।
प्रतिक्रिया