यूएईलाई राम्रो रन रेटले हराएर विश्वकपमा छनोट हुने नेपालकाे लक्ष्य

यूएईलाई राम्रो रन रेटले हराएर विश्वकपमा छनोट हुने नेपालकाे लक्ष्य



काठमाडौं । आईसीसी १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । यो खेल सेभेन्स स्टेडियममा अहिले सवा ३ बजे शुरू हुँदैछ ।

यूएईसँगको पहिलो खेलमा हारेको नेपाललाई १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट हुन आजको खेल निकै महत्त्वपूर्ण छ । याे खेलमा नेपालले यूएईलाई राम्रो रन रेटमा हराउनुपर्ने छ ।

चार वटा देश सहभागी प्रतियोगितामा यूएई ५ वटै खेल जित्दै १० अंकसहित शीर्ष स्थानमा छ । यूएईको नेट रन रेट ४ दशमलव ७९१५ रहेको छ । नेपाल ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । नेपालको नेट रन रेट ४ दशमलव ३३०० रहेको छ । यदि यूएईसँग पराजित भएमा १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्ने नेपालको सम्भावना समाप्त हुनेछ । थाइल्यान्ड र कुवेत दुवै टाेली विश्वकपमा छनाेट हुने सम्भावना समाप्त भइसकेकाे छ ।

नेपालले पहिला ब्याटिङ गरेर १४० रनको लक्ष्य दिए विश्वकपमा पुग्न युएईलाई १६.१ ओभरमा रोक्नपर्ने हुन्छ। यस्तै, यदि युएईले १४० रनको लक्ष्य दिएमा नेपाललाई विश्वकपमा पुग्न २१ को जित आवश्यक हुनेछ ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रन र पाँचौं खेलमा कुवेतलाई १ सय ६५ रनले हराएको थियो ।

प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।