वायु प्रदूषण : पाकिस्तानको लाहोर र मुल्तानमा स्वास्थ्य आपत्काल घोषणा

वायु प्रदूषण : पाकिस्तानको लाहोर र मुल्तानमा स्वास्थ्य आपत्काल घोषणा



काठमाडौं । वायु प्रदूषण अति घातक अवस्थामा पुगेपछि पाकिस्तानको पञ्जाब सरकारले लाहोर र मुल्तान शहरमा स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई हजारभन्दा माथि पुगेपछि प्रान्तीय सरकारले दुई वटा शहरमा स्वास्थ्य आपत्कालसहित पर्सि शुक्रवारदेखि तीन दिनका लागि लकडाउन घोषणा गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रान्तीय सरकारले तीन दिनका लागि विद्यालय, कार्यालय, पसल व्यवसाय बन्द गर्नुका साथै डिजेल र पेट्रोलबाट चल्ने सबै गाडी सञ्चालनमा रोक लगाएको हो । यदि अवस्था सुधार नभएमा आउँदो बुधवारसम्म नै लकडाउन हुने प्रान्तीय सरकारको सूचनामा उल्लेख छ ।

वायु प्रदूषण अत्यधिक भएको लाहोर शहरमा एक करोड ४० लाख जना मानिस बस्छन् । यहाँ एक्यूआई दुई हजार नाघेको र यो संसारमा मापन भएको अहिलेसम्मकै धेरै रहेको मानव अधिकारवादी संस्था ह्युम्यन राइटस् वाचले जनाएकोछ ।

पञ्जाबमा गएको एक हप्तामा मात्रै ६ लाख जनाभन्दा धेरै मानिस श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल पुगेका थिए । उनीहरूमध्ये ६५ हजार जना मानिसलाई अस्पतालमा भर्ना गर्नुपर्दा अस्पताललाई बिरामीको व्यवस्थापनमा समस्या देखिएको छ ।

पञ्जाबका मुख्यमन्त्री मरियम नवाज पनि घाँटीमा गम्भीर खालको सङ्क्रमण भएपछि उपचारका लागि युरोप गएको भन्दै ह्युम्यन राइटस् वाचले पञ्जाबवासीको स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेको छ ।