काठमाडौं । भारतले अस्ट्रेलियालाई पहिलो टेस्ट क्रिकेटमा २ सय ९५ रनले हराएको छ । पर्थमा भएको खेलमा अस्ट्रेलियालाई हराउँदै भारतले इतिहास रचेको छ । अस्ट्रेलियाले पर्थमा पहिलो पटक टेस्ट क्रिकेटमा हार बेहोरेको हो ।
भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलिया खेलको चौथो दिनको चिया समयपछि २ सय ३८ रनमा अलआउट भयो । दोस्रो पारीमा अस्ट्रेलियाका ट्राभिस हेडले सबैभन्दा धेरै ८९ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराह र मोहम्मद सिराजले ३/३ विकेट लिए ।
दोस्रो पारीमा भारतले ६ विकेट गुमाएर ४ सय ८७ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । भारतका यशस्वी जयसवाल र विराट कोहलीले शतक तथा केएल राहुलले अर्धशतक बनाए । अस्ट्रेलियाका नाथन लायनले २ विकेट लिए ।
यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ४ विकेट लिए ।
यस्तै अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिए ।
यो जीतसँगै भारतले पाचँ खेलको शृङ्खलाको बोर्डर गभास्कर ट्रफीमा १–० ले अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल आउँदो डिसेम्बर ६ देखि एडिलेडमा शुरू हुनेछ ।
प्रतिक्रिया