म्याग्दी । म्याग्दीको बेनी र रघुगङ्गाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ घतानमा सडक स्तरोन्नतिको काम शुरू भएको छ ।
किराखोर– नेप्टेचौर– तोरीपानी खण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयसँग १० करोड १६ लाख एक हजार तीन सय ६४ रुपैयाँमा मङ्गलादेवी सुवास कन्ट्रक्सनले सम्झौता गरेको हो ।
निर्माण कम्पनीले चार किलोमिटर खण्ड कालोपत्र गर्न पहिलो चरणमा धमाधम सडक विस्तार गरिरहेको छ । मौजुदा तीन दशमलव पाँच मिटर चौडा सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र गरिने छ ।
यो सडक बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाको आवागमनको प्रमुख माध्यम हो ।
चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको तीन करोड रुपैयाँ सडकको प्रवेशविन्दुमा पहिरो नियन्त्रण र गलेश्वर मावि अगाडिको खण्डमा स्तरोन्नति गरिने नगरप्रमुख सुरत केसीले बताए ।
प्रदेश सरकारको ६८ करोड रुपैयाँ लागतमा बेनी–पाखापानीसहित जिल्लाका सातवटा सडक स्तरोन्नति र मोटरकार पनि चलाउन मिल्ने दुईवटा पुल निर्माण शुरू भएको छ ।
ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाख रुपैयाँमा सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए ।
प्रतिक्रिया