पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले राति नै चितवनबाट पोखरा पुर्याएको छ ।
उनलाई गएराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको हो । लामिछानेलाई मंगलबार साहारा चितवन सहकारीको रकम हिनामिना सम्बन्धमा बयान लिन काठमाडौंबाट चितवन लगिएको थियो ।
मंगलबार र बुधबार गरी १५ घण्टासम्म जिल्ला न्यायाधिवक्ताको उपस्थितिमा बयान लिएपछि उनलाई पोखरा लगिएको हो ।
बुधबार लामिछानेको बयान जारी रहेका बेला जिल्ला सरकारी वकिल कार्यालय चितवन बाहिर रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
दिउँसोमा पोखरा लैजाँदा फेरि प्रदर्शन हुने राति नै उनलाई गाडीमार्फत पोखरा लगिएको चितवनका एक प्रहरी अधिकृतले बताए ।
कास्कीको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको कसुरमा गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर उनलाई प्रहरीले पोखरा लगेको थियो ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे बयान लिन पोखराबाट १३ असारमा उनलाई जहाजमार्फत काठमाडौं ल्याइएको थियो ।
त्यस क्रममा पनि काठमाडौं विमानस्थलबाहिर रास्वपा कार्यकर्ताले लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए ।
प्रतिक्रिया