रास्वपाद्वारा ‘क्यान्डिडेट क्लब’ विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारी तीव्र

रास्वपाद्वारा ‘क्यान्डिडेट क्लब’ विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारी तीव्र


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन आफ्नो ‘क्यान्डिडेट क्लब’ समितिलाई पूर्णता दिएको छ।

संयोजकको सिफारिसमा समितिमा नयाँ सदस्यहरू मनोनयन गरी जिम्मेवारी विभाजन गरिएको छ। नवगठित समितिमा कविन्द्र बुर्लाकोटी संयोजक रहेका छन् भने डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाललाई सदस्यका रूपमा मनोनयन गरिएको छ।

समितिको पूर्णतासँगै बसेको पहिलो बैठकले निर्वाचन केन्द्रित महत्त्वपूर्ण निर्णयहरूसमेत गरेको छ। उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ मुख्य गरी तीनवटा विषयमा छलफल र खाका तयार गर्ने सहमति भएको छ:

१. कागजात तथा विवरण संकलन विधि: उम्मेदवारका आकांक्षी र आवेदकहरूबाट आवश्यक व्यक्तिगत विवरण तथा आधिकारिक कागजातहरू संकलन गर्नका लागि सरल र व्यवस्थित प्रक्रिया निर्धारण गर्ने।

२. ‘ल्याटेरल इन्ट्री’ को व्यवस्था: विभिन्न क्षेत्रका अनुभवी, योग्य तथा सक्षम व्यक्तिहरूलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा आकर्षित र सहभागी गराउन विशेष ‘ल्याटेरल इन्ट्री’ आवेदन फारम तयार गर्ने।

३. दाबी–विरोधको पारदर्शी प्रक्रिया: उम्मेदवार चयन प्रक्रियालाई थप विश्वसनीय बनाउन कुनै उम्मेदवारविरुद्ध दाबी–विरोध गर्न सकिने फारम तथा स्पष्ट कानूनी एवं संस्थागत प्रक्रिया तय गर्ने।

रास्वपाले आगामी निर्वाचनमा सक्षम र जनप्रिय उम्मेदवारहरूलाई अगाडि सार्ने रणनीतिस्वरूप यो गृहकार्य अगाडि बढाएको बताइएको छ।