नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीमा पारदर्शी कानून आवश्यक: अमेरिकी दूतावास

नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीमा पारदर्शी कानून आवश्यक: अमेरिकी दूतावास


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपालमा अमेरिकी लगानी तथा व्यापार विस्तारका लागि कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता आवश्यक रहेको अमेरिकी दूतावासले जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख स्कट अर्बोमले नेपाल–अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउन व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।

नेपाल–अमेरिका उद्योग वाणिज्य संघ (नुसाक्की) द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अमेरिकी कम्पनीहरूका लागि नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्नु ट्रम्प प्रशासन र अमेरिकी दूतावासको प्राथमिकता रहेको उल्लेख गरे ।

उनले नेपालमा अमेरिकी कम्पनीहरूले सकारात्मक अनुभव हासिल गर्ने, सफल साझेदारी निर्माण गर्ने र व्यवसाय विस्तारका नयाँ अवसर पाउने वातावरण बनाउन चाहेको बताए । अर्बोमले नेपालमा अमेरिकी कम्पनीहरूको सफलताले अन्य अमेरिकी कम्पनीहरूलाई पनि नेपाली बजारप्रति आकर्षित गर्ने उल्लेख गरे।

नेपालमा थप अमेरिकी कम्पनीले आफ्ना नवीन प्रविधि, उत्पादन तथा सेवा भित्र्याउन सके दुवै देशका लागि आर्थिक अवसर विस्तार हुने उनको भनाइ छ । उनले नेपालमा भ्रष्टाचार र प्रशासनिक झन्झट घटाउन व्यापक समर्थन देखिएको उल्लेख गर्दै यस अवसरको सदुपयोग गर्न अमेरिकी दूतावासले नुसाक्कीजस्ता संस्थासँग सहकार्य जारी राख्ने बताए ।

कार्यक्रममा उनले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै विपद्पछिको पुन:स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराएको जानकारी दिए । बाढीबाट प्रभावित परिवारसँगै बेपत्ता भएका अमेरिकी नागरिकहरूप्रति पनि उनले चिन्ता व्यक्त गरे। नेपाल र अमेरिकाबीचको सम्बन्ध करिब ८० वर्ष पुरानो रहेको उल्लेख गर्दै अर्बोमले आगामी दिनमा व्यापार, लगानी र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताए ।

उनले नेपालमा आर्थिक समृद्धि र दुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने व्यवसायी तथा व्यक्तिहरूलाई सम्मान गर्दै पुरस्कार प्राप्त गर्ने सबैलाई बधाईसमेत दिए । निजी क्षेत्रले दुई देशबीचको आर्थिक सम्बन्धलाई नजिक बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि व्यापारिक सम्बन्ध विस्तार र साझा समृद्धिका लागि सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।