०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय

०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय


ग्लोब नेपाल
486
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी (०८४) को निर्वाचन एक्लै लड्ने घोषणा गरेको छ । आज बिहीबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारीको बैठकले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेकाे हाे ।

आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ४४ मध्ये ११ स्थान जितेर दोस्रो हुँदा उत्साहित भएको माओवादीको आज पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसेको थियो । बैठकले उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको र माओवादीको जनमत सबैतिर ‘राम्रो’ भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले भने, ‘बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’ कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार दोस्रो भए पनि त्यसलाई पनि जितकै रुपमा लिएर उत्साहित भएको उनले जानकारी दिएका छन ।

उनले भने, ‘अब सबै तयारी २०८४ को चुनाव जित्नका लागि’ गर्ने बताए । त्यसका लागि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजाने, पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने उनले जानकारी दिएका छन ।’

सापकोटाले २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्न माओवादी केन्द्रले पहल गर्ने पनि बताएका छन् ।