परराष्ट्र मन्त्री डा. आरजु राणा युरोप जाँदै

परराष्ट्र मन्त्री डा. आरजु राणा युरोप जाँदै


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा शनिबार युरोप प्रस्थान गर्ने भएकी छन् । अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा नेपालका प्रतिनिधित्व गर्न उनी युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गर्नेछन् । डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’ सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्नेछिन् । परराष्ट्र मन्त्रालयका अनुसार यो सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म हेग, नेदरल्याण्ड्समा भइरहेको छ।

आईसीजेको कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जानेछिन् । डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा आयोजित उक्त कार्यक्रममा सहभागी जर्मनीका विदेश मन्त्रीको निमन्त्रणामा उनी जर्मन जान लागेकी हुन् ।

भ्रमणको क्रममा उनले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी, युरोपियन युनियन लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । उनको टोलीमा कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरू रहनेछन् ।

मन्त्री राणा डिसेम्बर २० (पुस ५ गते) स्वदेश फर्कनेछिन् ।