मादक पदार्थ पिएका प्रहरीले ममाथि ज्यादती गरे : रवि लामछिाने

मादक पदार्थ पिएका प्रहरीले ममाथि ज्यादती गरे : रवि लामछिाने


ग्लोब नेपाल
216
Shares

काठमाडौं । मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवनबाट बिहीबार राति पोखरा ल्याउने क्रममा उच्च रक्तचाप भएको जनाएको छ । आयोग टोलीले शुक्रबार कास्की प्रहरीको हिरासतमा भेटेर लामिछानेसँग कुराकानी गरेको थियो ।

आयोगले चितवनबाट रातारात पोखरा ल्याएर स्वास्थ्य परीक्षण गराउँदा उनको रक्तचाप १८०/९० पुगेको जनाएको छ ।

लामिछानेलाई भेटेका आयोगका अधिकृत टंक खनालका अनुसार उनले आफ्नो रक्तचाप चितवनबाट पोखरा आउँदा १८०/९० रहेको बताएको उल्लेख गरे । खनालका अनुसार लामिछानेले त्यस्तो बेला जे पनि हुन सक्ने भन्दै प्रहरीले ज्यादती गरेकामा निन्दा गरे ।

उनले चितवनमा स्वास्थ्य परीक्षण गराउन खोज्दा प्रहरीले नदिएको पनि बताए । बुधबार बिहानदेखि राति ९ बजेसम्म जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिने क्रममा आफ्नो टाउको दुखेको र औषधि सेवन गर्नुपरेको लामिछानेले बताए ।

उनले चितवन प्रहरीले आफूलाई स्वास्थ्य परीक्षण गर्न माग गर्दा दुर्व्यवहार गरेर पोखरा ल्याएको बताए । मादक पदार्थ सेवन गरेका प्रहरीले मध्यरात दुर्व्यवहार गरेको आरोपसमेत उनले लगाएका छन् ।

अस्वस्थ अवस्थामा अमानवीय तवरले रातारात चितवनबाट पोखरा लगिएको र हिरासतभित्र दुर्व्यवहार गरिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले आयोगमा उजुरी दिएकी थिइन् ।

कास्की प्रहरीका अधिकारीहरुले भने लामिछानेलाई चितवनबाट बिहीबार बिहान साढे ३ पोखरा ल्याइएलगत्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको बताएका छन् । प्रहरीले चितवनस्थित सहारा सहकारीको बचत अपचलन कसुरमा बयान लिन उनलाई सोमबार काठमाडौंबाट चितवन लगेको थियो ।