पूर्वमन्त्री लीलाबल्लभविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर

पूर्वमन्त्री लीलाबल्लभविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर


ग्लोब नेपाल
297
Shares

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गर्न आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले कानुनबमोजिम गर्न आदेश जारी गरेको हो ।

१० मंसिरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । अधिकारीलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने त्रिपाठीको माग थियो ।

पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । उनले असम्बन्धित व्यक्तिलाई आफूसँगै कार्यक्रममा लगेको आरोप लागेको थियो ।

उनीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।

जापानको अध्यागमनले मन्त्री अधिकारीसहित तीन जनालाई नै डिपोर्ट गरिदिएको थियो । सो घटनामा थप अनुसन्धान गर्न प्रहरीले मन्त्री अधिकारीलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरेको थियो । सोही घटनामा अन्य ११ जनाविरुद्ध भने मुद्दा दायर भएको थियो ।