अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीलगायत विषयमा छलफल गरिएको छ ।

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व कायम भएको उल्लेख गरे । अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका निम्ति नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न उनले आग्रह गरेका अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्या परेको उल्लेख गरे । तर, नेपालले आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै उनले खुसी व्यक्त गरे । उनले अमेरिका आउँदा दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराए ।