काठमाडौं । विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।
सुरुवाती दुई खेलमा पराजित भएको कर्णालीले मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
पाँचौँ खेलमा तेस्रो जित निकालेसँगै कर्णालीले प्ले अफमा पुग्ने सम्भावना बढाएको छ । जितसँगै कर्णालीले पाँच खेलबाट ६ अंक बनाएको छ । यता चोथो खेलमा तेस्रो हार खेपेको पोखराको अघिल्लो यात्रा कठिन बन्दै गएको छ । चार खेलमा तेस्रो हार खेपेको पोखराको दुई अंक छ ।
कर्णाली प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । कर्णालीले तेस्रो खेलमा भने चितवन राइनोजविरुद्ध ६ विकेटको र चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रनको जित निकालेको थियो ।
कर्णालीको जितमा गुल्सन झा ४९ रनमा अविजित रहे । अर्धशतक बनाउन एक रनले चुकेका गुल्सनले ३७ बलमा तीन चौका र चार प्रहार गरे । गुल्सनसँगै अविजित रहेका विलियम बोसिस्टोले दुई रन थपे ।
१४–२ को कठिन स्थितीबाट गुल्सनले चान्डविक वाल्टनसँग ६० रनको साझेदारी गर्दै कर्णालीलाई जित नजिक पुर्याएका थिए ।
चान्डविक वाल्टनले ४२ रन बनाए । ३४ बलको सामना गरेका वाल्टनले ६ चौका र एक छक्का प्रहार गरे । वाल्टनलाई १२औँ ओभरको अन्तिम बलमा लुम्बिनीका कप्तान कुशल भुर्तेलले बोल्ड गरेका थिए ।
कर्णालीका ओपनरद्वय देव खनाल र बाबर हायात भने सस्तैमा पभेलियन फर्किए । हायातले टोलीको खातामा सात रन थप्दा देव ‘डक’ भएका थिए ।
पोखराका कप्तान कुशल भुर्तेल, विपीन खत्री र सागर ढकालले समान एक लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १६.३ ओभरका सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो । पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिस गौसले २५ रन बनाए । यस्तै रेमोन रेफरले २०, कप्तान कुशल भुर्तेलले र विपिन खत्रीले १०/१० रन जोडे ।
पोखरालाई सस्तैमा समेट्न बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । उनले विकेट लिनेक्रममा पुरा चार ओभर बलिङ गर्दै २८ रन खर्चिए ।
युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेट लिए । यसअघि मङ्गलबार नै भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको थियो ।
प्रतिक्रिया