पद धरापमा परेपछि ऊर्जामन्त्री खड्काले किस्तामा तिर्दै स्काउटको भाडा

पद धरापमा परेपछि ऊर्जामन्त्री खड्काले किस्तामा तिर्दै स्काउटको भाडा


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । अन्ततः ऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको भाडा तिरेका छन् । पद नै धरापमा परेपछि खड्काको कम्पनी ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले किस्ताबन्दीमा भाडा तिर्न सुरु गरेको हो ।

उक्त कम्पनीले बुधबार स्काउटलाई १ करोड ७५ लाख रूपैयाँ भाडा तिरेको छ । खड्काको कम्पनीले स्काउटलाई ५ करोड ४१ लाख ७० हजार रूपैयाँ भाडा तिर्न बाँकी थियो । उक्त कम्पनीले बाँकी बक्यौता पनि १० दिनभित्र तिरिसक्ने प्रतिबद्धता जनाएको छ ।

काठमाडौंको लैनचौरस्थित स्काउटको जमिन भाडामा लिएर खड्काले लामो समयसम्म भाडा तिरेका थिएनन् । उच्च अदालतको आदेशसमेत अटेर गरेर खड्काले भाडा नतिरेपछि स्काउट व्यवस्थापनले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी लगायतमा ध्यानाकर्षण गराएको थियो ।

खड्काले भाडा नतिरेको विषयमा सार्वजनिक सञ्चार माध्यममा लगातार समाचार आउने गरेको थियो । पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारले भाडा नतिरेको विषय सार्वजनिक गरेपछि उक्त जग्गा सिल गरेको थियो । खड्काको कम्पनीले २०६३ सालमा स्काउटको ३ रोपनी जग्गासहित त्यसमा रहेका दुई घरसमेत भाडामा लिएको थियो ।