रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै


ग्लोब नेपाल
297
Shares

काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । आइतबार थपिएको ४ दिनको म्याद हिजो बुधबार सकिएकाले उनलाई आज फेरि अदालत उपस्थित गराउन लागिएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौँबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौँस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ । पोखराको सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीवी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ ।

संसदीय छानबिन विशेष समितिले पनि उनीहरूलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो । समितिको सिफारिस लगत्तै रवि र छविलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ भने जीवी फरार छन् ।