काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको आज शुक्रबार बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ ।
शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीको चीन भ्रमणको क्रममा केही नयाँ सहमति नभएको निष्कर्ष निकालेको हो ।
बैठकको प्रारम्भ गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीच भएको १० बुँदे ‘बीआरआई फ्रेमवर्क’ सहमति आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएको योजनामा ओलीले सहमति गरेको बताएका थिए ।
‘केपी ओलीजीको चीन भ्रमणमा भएको ‘बीआरआई फ्रेमवर्क’ सम्झौता नयाँ होइन । त्यो म प्रधानमन्त्री हुँदा आगाडि बढाएको योजना हो । यसमा कुनै तात्त्विक फरक छैन । उहाँको भ्रमण सफल देखिएन’, प्रचण्डको भनाई उदृद्ध गर्दै उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
यस्तै प्रचण्डले ओली सरकार चौतर्फी अलोकप्रिय बन्दै गएको, देश र जनताको हितमा भन्दा पनि भ्रष्टाचारीलाई संरक्षण गर्न बनेको पुष्टि भएकाले सरकारविरुद्ध सशक्त रूपमा खबरदारी गर्न निर्देशन दिएको गजुरेलले जानकारी दिएका छन ।
प्रतिक्रिया