काठमाडौं । सुदूरपश्चिम रोयल्सले काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई पाँच रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको हो ।
सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाएर अलआउट भयो ।
आजको जितसँगै सुदूरपश्चिम १० अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा भने सात खेलबाट ६ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ ।
पोखराका आन्द्रियस गौसले सर्वाधिक ३६ रन बनाए । रेमोन रेफरले ३३, किरण ठगुन्नाले ३२ रन प्रहार गरे । यी दुईले ६९–५ को स्थितीबाट छैटौँ विकेटका निम्ति ७० रनको साझेदारी गर्दै पोखराको मध्यक्रम सम्हालेका थिए ।
यसबाहेक, ओपनर दिनेश खरेलले १५ र जेन मलिकले १० रन थपे ।
सुदूरपश्चिमका स्कट कुग्गेलेनले पाँच विकेट लिए । हर्मित सिंहले तीन विकेट लिए । सैब जैबको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका आरिफ सेखले सर्वाधिक ४२ रन बनाए । ब्रान्डन म्याकमुलमले २३, कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन जोडे ।
यस्तै, ओपनर विनोद भण्डारीले १४ रन थप्दा हर्मित सिंहले १३ र इशान पाण्डेले १० रन बनाए । इशान १९औँ ओभरको पहिलो बलमा ‘रिटायर्ड आउट’ भएका थिए ।
पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । रेमोन रेफर, सागर ढकाल र माइकल लियस्कले समान एक विकेट लिए ।
प्रतिक्रिया