रविविरुद्धको अनुसन्धान प्रतिवेदन भोलि पेस गरिँदै

रविविरुद्धको अनुसन्धान प्रतिवेदन भोलि पेस गरिँदै

रवि न्यायिक हिरासतमुक्त हुन्छ कि जेल जान्छन् ?


ग्लोब नेपाल
891
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको प्रतिवेदन भोलि सोमबार सरकारी वकिल कार्यालय कास्कीमा पेस गरिदैछ । उनी कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरीरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन ।

ती अधिकृत भन्छन्, ‘सोमबार प्रतिवेदन जान्छ ।’ अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको कास्कीका एसपी श्यामबावु ओलियाले जानकारी दिएका छन् । उनले भने, ‘मुद्दाको टिमले प्रतिवेदनमा काम गरिरहेको छ ।’उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँने तयारी रहेको छ ।

उनीविरुद्ध सम्बद्ध कसुरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर स्रोतको दाबी छ । संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ । अपचलनमा संलग्न आरोपमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन् ।

पूर्वडीआईजी जोशी असोज ६ मा पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ९० दिनभित्र उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ ।

जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने बाध्यता सरकारसँग छ ।

सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिको छानबिन निष्कर्ष छ ।