पत्रकार महासंघमा महिला नेतृत्व : अवसर र चुनौती

पत्रकार महासंघमा महिला नेतृत्व : अवसर र चुनौती



नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ । महाधिवेशनले महासंघको इतिहासमा केही महत्वपूर्ण मानकहरु समेत निर्माण गरेको छ । महासंघको ६९ बर्ष लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ । निर्मला शर्मा पत्रकार महासंघको पहिलो महिला अध्यक्ष बन्नुभएको छ ।

सदस्यता विवादका कारण उत्पन्न परिस्थितिमा चुनाव गराउन नसकेर निर्वाचित केन्दीय अध्यक्ष र वरिष्ठ उपाध्यक्षले समेत राजिनामा दिएको विषम परिस्थितिमा पत्रकार महासंघलाई विघटन हुनबाट जोगाउने कार्यभार सफलतापूर्वक सम्पन्न गरेर निवर्तमान कार्यवाहक अध्यक्ष (महिला) बाला अधिकारीले अर्को अभिनन्दनीय कार्य गर्नुभएको छ ।

गण्डकी र कोशी प्रदेशको महासचिवमा क्रमशः जमुना वर्षा शर्मा र हिमा चेम्जोङ निर्वाचित हुनु, मोरङ जिल्ला अध्यक्षमा सुशीला पाठक, काठमाडौंमा शोभा अर्याल, रोल्पामा खुबिना मगर, मुस्ताङमा सुनदेवी रसाइली निर्वाचित हुनु महिला नेतृत्व विकासका हिसाबले पक्कै महत्वपूर्ण पक्ष हो ।

पहिलो पटक खुल्ला मतदानमार्फत ९ हजार ३ सय सदस्यले प्रत्यक्ष चुनेको नेतृत्व यसपटक महासंघमा पुगेको छ ।

प्रेस युनियन र प्रेस चौतारीबीचको महागठबन्धनका बाबजुत केन्द्रीय कोषाध्यक्ष जस्तो महत्वपूर्ण पदमा प्रेस सेन्टरका उम्मेदवार रामकृष्ण अधिकारी विजयी बन्नुभएको छ । महागठबन्धनकाबीच पनि सन्तुलित प्रतिनिधित्व स्थापित गर्दै महासंघको कोष व्यवस्थापनमा पारदर्शीता र जवाफदेहीतासहित खवरदारी गर्न कोषाध्यक्षमा अधिकारीलाई जिताउने मतदाताहरुको संकेत पक्कै अर्थपूर्ण छ ।

केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखामा नयाँ समावेशी चरित्रको नेतृत्व स्थापित भएसँगै पत्रकारहरुमा नयाँ उमंग देखापरेको छ ।

नेपाल पत्रकार महासंघ वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तर उत्तराधिकारवाला संस्था हो । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । विदेशमा विभिन्न देशमा समेत शाखा रहेको महासंघ नेपाली पत्रकारहरुको साझा संस्थाका रुपमा क्रियाशील रहदै आएको छ ।

हुन त नेपालमा वि.सं. २००८ सालमा पत्रकारहरुको हकहितको निम्ति नेपाल पत्रकार संघको स्थापना भएको थियो । २००९ वैशाखमा भएको संघको दोस्रो सभाले एउटा कार्यकारिणी समितिको गठन ग¥यो । त्यसवेला पत्रकार संघ स्थापना गर्नुको उद्धेश्य नेपालका पत्रकारहरु तथा नेपाली पत्रकारहरुलाई संगठीत गरी तिनिहरुको आवश्यक सुविधाका लागि प्रयत्नशिल रहनु र नेपाल वाहिरका पत्रकारहरुसँग सम्बन्ध स्थापना गरी नेपालका श्रमजीवी पत्रकारहरु र समाचारपत्रका अधिकारको रक्षा गर्नु रहेको थियो । सत्य नारायण वहादुर श्रेष्ठले अध्यक्षता गर्नुभएको २००८ सालको संघ नै पत्रकारहरुको पहिलो संस्था हो । तर अहिले चलिरहेको नेपाल पत्रकार महासंघ त्यसबेलाको निरन्तरता होइन । कृष्ण प्रसाद भट्टराई अध्यक्ष रहनुभएको २०१२ सालमा स्थापित नेपाल पत्रकार संघ नै अहिलेको महासंघको निरन्तरता हो ।

देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्दन गर्ने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने, र पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै आएको छ ।

यसका साथै देशमा भएका सबै लोकतान्त्रिक आन्दोलनहरुको एक महत्वपुर्ण हिस्साकारुपमा महासंघ सधैं उभिएको छ । लोकतान्त्रलाई सुदृढ गर्दै देशमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु र मानव अधिकारको रक्षा गर्नु महासंघको उद्देश्य रहेको छ । यी उद्धेश्यहरुलाइ पुरा गर्नुपर्ने महत्वपूर्ण अवसर वर्तमान नेतृत्वले प्राप्त गरेको छ । यस्तो गरिमामय संस्थाको नेतृत्वमा स्थापित हुनु नै ठूलो उपलब्धि हो ।

यसका साथसाथै धेरै चुनौती र अभिभारा नवनिर्वाचित कार्यसमितिको काँधमा आएको छ । समग्रमा निम्न १५ चुनौतिहरुको सामना गर्नुपर्ने दायित्व शर्मा नेतृत्वको महासंघ सामु खडा छ ।

१.महासंघलाई दलीय प्रभाववाट मुक्त राख्नु ।
२.नागरिक समाजको अगुवा संस्थाका रुपमा जनसरोकारका मुद्धामा आवाज बुलन्द गर्नु ।
३.प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अक्षुण राख्नु ।
४.पत्रकारहरुको हक हित र अधिकारको पक्षमा निरन्तर वहश र पैरवी गर्नु ।
५.पत्रकारिता पेशालाई समाज राष्टप्रति जिम्मेवार र जनउत्तरदायी बनाउनु ।
६.सदस्यता विवादको स्थायी समाधान खोज्नु ।
७.महासंघको छवि अन्तराष्ट्रिय स्तरमा व्यापक बनाउनु ।
८.आमसंचार माध्यम र पत्रकारिता क्षेत्रमा महिला, आदिवासी जनजाती, मधेशी, दलित, थारु, मुस्लीम, अल्पसंख्यकहरुको आकर्षण बढाउनु तथा उपस्थिति व्यापक वनाउनु ।
९.मिडिया उद्योग खासगरी साना लगानीका संचार माध्यममा देखिएका संकट समाधान गर्नु ।
१०.आम जनमानसमा मिडिया लिटरेसी बढाउनु ।
११.पत्रकारलाई प्रशिक्षण र तालिमका माध्यमवाट शसक्त बनाउनु ।
१२. पत्रकारको स्वास्थ्य उपचार र जोखिमपूर्ण कार्यमा ध्यान दिनु ।
१३. वरिष्ठ र ज्येष्ठ पत्रकारहरुको सम्मान गर्नु र सम्मानपूर्ण जीवनको प्रत्याभुत गर्नु ।
१४.प्रेस जगत र पत्रकारलाई शक्ति र सत्ताको दवाव र प्रभावबाट मुक्त राख्नु ।
१५.संचार क्षेत्रको विकाश र विस्तारमा प्रयत्नशिल रहनु ।

प्रविधिको विकाससँगै ‘पत्रकारिता’ क्षेत्रमा पनि अनेकन् चुनौति र अप्ठ्यारा सिर्जना भएका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोेले समेत पत्रकारिता पेशाप्रति थप चुनौती थपिएको छ । पत्रकारिता पेशाको शाख, र मर्यादा जोगाउदै आचार–संहिताको पालनामा पत्रकारहरुलाई सचेत गराउनु एवं ‘भाइरल’ बनाउन र ‘भ्यूज’ बढाउन गरिने असत्य र भ्रामक सुचनाबाट आम जनमानसलाई बचाउन प्रयत्नशील रहनुपर्ने चुनौती पनि उक्तिकै रहेको छ । यी चुनौतीहरुसँग जुद्दै महासंघलाइ समग्र नेपाली पत्रकारहरुको साझा छहारीका रुपमा स्थापित गर्न सके सुनमा सुगन्ध हुनेछ ।