ललितपुरको पाँच ठाउँमा इन्टिलिजेन्ट ट्राफिक लाइट सञ्चालनमा

ललितपुरको पाँच ठाउँमा इन्टिलिजेन्ट ट्राफिक लाइट सञ्चालनमा



ललितपुर । ललितपुर महानगरले इन्टेलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गरेका छन् ।

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको सङ्ख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन् । ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ ।

पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको शहरीविकास योजना महाशाखा प्रमुख तथा यो परियोजनाको प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।

लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको सङ्ख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ । सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाडौंतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेण्ड मात्रै पर्खे पुग्छ ।

महानगरका प्रमुख महर्जनले ट्राफिक व्यवस्थापन गर्न यो लाइट जोडिएको बताउदै यो नेपालमै पहिलो भएको धारणा राखे । पाँच वर्षसम्म महानगरले मर्मत गर्न परे एक पैसा पनि खर्च गर्न नपर्ने उनको भनाइ छ ।