एमालेका नेता ज्ञवाली अचानक किन पुगे दिल्ली ?

एमालेका नेता ज्ञवाली अचानक किन पुगे दिल्ली ?


ग्लोब नेपाल
135
Shares

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा रहेको बेला पूर्व परराष्ट्रमन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि अचानक भारतको दिल्ली पुगेका छन् ।

भारतस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्री आरजु राणा देउवाका लागि आयोजना गरिएको रात्रीभोजमा उपमहासचिव ज्ञवालीले पनि सहभागी भएका छन । युरोप भ्रमण सकेर पुस ४ गते दिल्ली पुगेकी परराष्ट्र मन्त्री आरजुले हिजो पुस ५ गते आयोजित नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेकी थिइन् ।

उनी आफ्नो स्वास्थ्य चेकजाँच गराएर सोमवारसम्म नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ । परराष्ट्र मन्त्री आरजुले भारतीय समकक्षी एस जयशंकरसँग भेट्ने तयारी भए पनि त्यो अधुरै भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत भ्रमणमा निस्किएपछि विदेश मन्त्री एस जयशंकर पनि सँगै गएका छन् । परराष्ट्र मन्त्री आरजुसँग मन्त्री जयशंकार मात्र होइन, भारतीय विदेश मन्त्रालयका कुनै पनि अधिकारीले भेटन मानेका छैनन ।

पुस ४ गते विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने मनु महवारले भारतका लागि कार्यवाहक राजदूत डा.सुरेन्द्र थापालाई मन्त्रालयमा बोलाएर परराष्ट्र मन्त्री आरजुको भारत भ्रमणको बारेमा छलफल गरेका थिए ।

तर विदेश मन्त्री एस. जयशंकरको भेटघाटको समय तालिका नमिलेका कारण भेटघाटको सम्भावना कम देखिएको छ । भारतीय प्रधानमन्त्री मोदी कुवेतबाट भोलि साँझ फर्किने कार्यक्रम रहेको छ ।

तर उपमहासचिव ज्ञवाली दिल्ली किन पुगे ? यो कुरा अझै खुलेको छैन । पुस ४ गते पोखरामा सिचुआन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा आयोजना गरेको “फेवा संवाद” कार्यक्रममा सहभागी भएर उनी दिल्ली उडेको बताइएको छ ।

पछिल्लो समय नेपाल–भारत बिच सम्बन्ध चिसिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्बन्ध बनाउनका लागि विभिन्न सूत्रहरू प्रयोग गरिरहेका छन् । प्रधानमन्त्री ओली भारत भ्रमण गर्ने मुडमा रहेको तर भारतबाट निमन्त्रणा नआएका कारण रोकिएको श्रोतले जानकारी दिएको छ ।