सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती

सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती



नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । गैँडाकोट– ११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान बिस्तारै फेरिँदै गएको छ । केही वर्षअगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा प्रयोगमा आउने उक्त फाँट अहिले तोरीले पहेँलपुर भएको हो ।

पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित भएर आएका जनप्रतिनिधिको प्रयासले बिस्तारै यस ठाउँमा परिवर्तन देखिन थालेको स्थानीय बताउँछन् । गैँडाकोट नगरपालिकाले यहाँको जमिनलाई सिँचाइ सुविधा पुर्‍याउन बोरिङ गाड्ने र सिँचाइका लागि कुलो बनाउने काम गरेसँगै परिवर्तन आएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चैतेधानको पकेट क्षेत्रका रूपमा परेको यो ठाउँ धान जोनमा परिणत हुन लागेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले जानकारी दिए । यहाँ बोरिङ र सिँचाइको व्यवस्था गर्दै दुई खेती धान फल्ने वातावरण सिर्जना गरिएको उनले बताए ।

‘धानसँगै तोरी पनि उत्पादन गर्नका लागि तोरी पकेट क्षेत्र बनाउन हामीले यो वर्ष तोरीमा लगानी गरेका छौँ,’ नगर प्रमुख अधिकारीले भने, ‘कृषकहरूलाई करिब ४ सय बिघामा तोरीखेती गर्न ५० प्रतिशत अनुदानमा बिउ वितरण गरेका छौँ ।’ नगरपालिकाले यहाँको खेतबारीमा सिँचाइ सुविधासँगै बिउमा अनुदान दिँदा पूरै फाँटमा तोरी फुलेर पहेँलै भएको उनले बताए ।

भेँडाबारीमा चैते धानसँगै बर्खे धान पनि लहलह झुल्दै आएको अधिकारीले बताए । पालिकाले निरन्तर रूपमा सिँचाइको व्यवस्था गरेको भन्दै पालिकाले सहयोग गरेकाले किसान पनि उत्साहित भएर धान, तोरी, विभिन्न जातका तरकारी र सागसब्जी खेती गरिरहेका उनले उल्लेख गरे ।

भेँडाबारीको केही क्षेत्रमा अझै सिँचाइ नपुगेको भन्दै यस वर्षको बजेटले भत्किएको बाँध मर्मत तथा थप बोरिङ निर्माणको व्यवस्था गरिएको नगर प्रमुख अधिकारीले बताए । ‘हामीले क्रमशः अन्य वडामा खेती विस्तार गर्दै ठूला बोरिङहरू निर्माण गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘नमुनाका लागि वडा नं ११ मा उन्नत जातको तोरीको बिउ वितरण गरिएको छ । उत्पादन राम्रो भएमा तोरीखेतीलाई अझै विस्तार गरेर लैजाने योजनामा छौँ ।’

तोरीको उत्पादनअनुसार पालिकाले बजारीकरणमा सघाउने नगर प्रमुख अधिकारीले बताए । यहाँ उत्पादन हुने खाद्य सामग्री बिक्रीवितरणका लागि समस्या नभएको भन्दै पालिकाभित्रै ठूला मिलहरूसँग समन्वय गरिने उनले बताए ।

गैँडाकोट– ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले यसअघिका वर्षमा भेँडाबारीमा तोरीखेती थोरै मात्रामा हुने गरेकोमा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि खेती विस्तार हुँदै गएको बताए । ‘केही किसानले लगाउने सबै तेरीखेतीमा लाई कीरा लागेर उत्पादन नहुने अवस्था थियो,’ उनले भने, ‘भेँडाबारी फाँटमा हिउँदको समयमा पानी हुँदैनथ्यो । अहिले सिँचाइ पुगेपछि हिउँदमा पनि फाँट हराभरा भएको छ ।’

स्थानीय तह निर्वाचन २०७४ पछि यस ठाउँलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ वडा र स्थानीय कृषक समूहको संयुक्त प्रयासमा हरेक वर्ष कुलो पक्की बनाउने र थप्ने, कुलोको छेउमा बाटो, बत्ती र पानी पुर्‍याउने योजनामा पालिकासँग समन्वय गरी अघि बढिएको वडाध्यक्ष सुवेदीले बताए ।

गैँडाकोट– ११ की कृषक चन्द्रकला महतोले २ सय ५० किसानले ४ सय बिघा क्षेत्रफलमा तोरीखेती गरेको बताए । पहिला स्थानीय प्रजातिको तोरीखेती गरिने गरिएकोमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा ‘मोरङ–२’ र ‘उन्नत’ जातका बिउ दिएपछि त्यसकै खेती गरिएको उनको भनाइ छ ।

केही वर्षदेखि यहाँ तीन खेती अन्न उब्जनी हुने गरेको उल्लेख गर्दै महतोले किसानलाई फाइदा हुँदा खेती गर्ने क्षेत्रफल र किसानको सङ्ख्या बढ्दै गएको बताए । तोरीको उत्पादन राम्रो भएकाले व्यावसायिक तोरीखेतीतर्फ आफूहरू आकर्षित भएको उनको भनाइ छ ।

उत्पादन भएको अन्नबालीको बजारीकरणमा नगरपालिका र वडा कार्यालयले समन्वय गरिरहेकाले समस्या नभएको भन्दै कृषक समूहले बिक्रीको प्रबन्ध गरिदिने महतोले बताए । बालीमा दिइने अनुदानका कार्यक्रमले किसानलाई खेतीतर्फ प्रोत्साहन गरिरहेको उनले अनुदान कार्यक्रमलाई बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

यस वर्ष गैँडाकोट नगरपालिकाको भेँडाबारी ब्लकमा ४ सय बिघासँगै पालिकाभित्र करिब २ हजार बिघा क्षेत्रफलमा तोरीखेती गरिएको छ । पालिकाले यस वर्ष ४ सय बिघा क्षेत्रफलमा तोरीको बिउमा अनुदान दिएको छ । गैँडाकोट–११ लाई केन्द्रमा राखेर १२, १४ र १५ लाई पनि समेट्दै खेती विस्तार गर्ने तयारी गरिएको पालिका कार्यालयले जनाएको छ ।