भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा समस्या

भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा समस्या



भोजपुर । भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासीलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको यो ठाउँमा पक्की पुल नहुँदा नागरिकले वर्षेनि दुःख भोग्दै आएका छन् ।

वैकल्पिक उपायका रूपमा झन्डै ६ वर्ष अघिदेखि यहाँ फेरी सञ्चालन गरिएको छ । तर विभिन्न प्राविधिक समस्या, हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने भएकाले समस्या झेल्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रको व्यापारिक केन्द्रका रूपमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले वर्षाैंदेखि समस्या भोग्दै आएका छन् । बजार क्षेत्रमा चहलपहल कम हुँदा व्यावसायिक गतिविधि सुस्त भएको छ ।

सतिघाटमा पक्की पुल निर्माणका लागि राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीयवासी नवीन कार्कीले बताए । बर्खाको समयमा पानीको बहाव बढेपछि पूर्णरूपमा फेरी बन्द हुने भएकाले झोलुङ्गे पुलबाट नै आवतजावतसँगै पिँठ्यूमा सामान बोकेर ओसार्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले फेरीले तत्कालीन समस्या समाधानमा केही राहत मिले पनि स्थायी समस्याको समाधान नरहेको बताए । पक्की पुल निर्माणका लागि पहलकदमी गरिरहेको उनको भनाइ छ ।