काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि शपथ लिनु अगावै नै अपराधिक गतिविधि अर्थात् ‘हश मनी ट्रयाल’ मामिलामा सजाय भोग्नुपर्ने भएको छ।
न्यूयोर्क अदालतका न्यायाधीश जुआन मर्चनले ट्रम्पको हश मनी सम्बन्धी मुद्दामा अगामी जनवरी १० मा सजाय सुनाउने भन्दै लिखित आदेश जारी गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै हुनुहुन्छ ।
सजाय सुनाउने क्रममा ट्रम्प आदालतमा भौतिक रुपमा उपस्थित हुन अनिवार्य छ । सजाय सुनाउन लिखित आदेश जारी गरेपनि न्यायाधीशले ट्रम्पलाई जेल सजाय भोग्न नपर्ने संकेत दिनुभएको बीबीसीले जनाएको छ । यसले ट्रम्पलाई राहत प्रदान गरेको छ ।
गत वर्ष जुलाई एकमा अमेरिकाको सर्वोच्च अदालतले कुनै पनि राष्ट्रपति वा पूर्वराष्ट्रपतिले आफ्नो कार्यकालका बेला गरेको गतिविधिमाथि लगाइएको मुद्दामा स्वतः छुट हुने आदेश जारी गरेको थियो । सोही आधारलाई टेकेर ट्रम्पले राष्ट्रपति चुनाव चित्नुभएको कारण उक्त मुद्दा खारेज गर्न उहाँका वकिलले अपील गरेका थिए । तर, न्यायाधीश मर्चनले ट्रम्पको अपीललाई खारेज गरी सजाय सुनाउने मिति तोक्नुभएको हो। अमेरिकी इतिहासमा शपथ लिनुअघि सजाय भोग्ने ट्रम्प पहिलो राष्ट्रपति बन्नुभएको छ ।
सन् २०१६ मा चुनावी अभियानका दौरान ट्रम्पले पर्नस्टार स्टोर्मी ड्यानियलसँगको सम्बन्धलाई सार्वजनिक नगर्न भन्दै ड्यानियललाई १ लाख ३० हजार डलर गुप्त रकम प्रदान गर्न व्यापारिक रेकडमा हेरफर गरेको सम्बन्धमा अदालतले ट्रम्पलाई दोषी ठहर गरेको थियो ।
नोभेम्बर २६ मै उहाँमाथिको मुद्दामा सुनुवाइ हुने थियो तर ट्रम्पले राष्ट्रपतिको चुनावमा ऐतिहासिक जित हासिल गरेपछि न्यायाधीश मर्चनले मिति पछि सार्नुभएको हो ।
प्रतिक्रिया